Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

बर्दियाको गोलामा बितेका बाल्यकालका ती दिन र पानीको सम्झना

कर्णाली नदीको दुई भंगालोले घेरेको थियो, हाम्रो गोलालाई । हाम्रो स्कुललाई । हाम्रो घर भएको खोनपुर गाउँलाई । माघीमा ठाकुरद्धारा मन्दिरमा मेला भर्न जांदा पनि कर्णालीको गेरुवा भंगालो छिमल्नु पर्ने । शनिबार पारेर टिकापुरको राज सिनेमा हलमा फिल्म हेर्न जांदा पनि कर्णाली नदीको पश्चिम भंगालो तर्नु पर्ने । घरै वरीपरिका वन्जरिया झरन, चारगाउं कुलो, बुढिकुलो त दैनिकी भै हाले ।
श्रीलंकाको टापु नाउं पाएको थियो तत्कालिन एघार गाविसको यो ठाउंले अनि थारु समुदाय वीच भौंरा टप्पुको नामले परिचित । अघिपछि दिक्क लागे पनि वर्षामा गेरुवा नदीमा आएको भेलमा पौडदा भने साह्रा विकटता, असजिला भुलिन्थ्यो । समय पनि गर्मीको । अनि स्कुल पनि वर्षामा पूरै दुई महिना विदा हुने । वर्षाभरी साह्रा केटाकेटी, युवा युवतीहरुको दैनिकी गेरुवा नदीमा वित्थ्यो । 
पूरै खोनपुर, तीनघरुवा, खल्लागाउं, सुखारका दर्जनौं केटाकेटीहरुको जुलुस लाएर नदीमा हाम फाल्थ्यौं । पानीले बगाएर तल मनाउ गाउँ पुर्याउने डर हुने भएकाले झण्डै दुई किलोमिटर माथिबाट मात्रै नदीमा पस्नु पर्थ्यो । अनि बल्ल खोनपुर गाउंपारीको डिलमा पुग्न सकिन्थ्यो । फर्किदा फेरी नदीको तिरै तिर उसै गरी उत्तर लागेर नदीमा पसिन्थ्यो ।
पानीको करेन्ट भएको भेलमा हातखुट्टा छोडेर पानीमा तैरदा कस्तरी पानीको हल्कोले बगाउंथ्यो भने आहा.......। पानीले उचाल्दै, पछार्दै सललल बगाएर लान्थ्यो जीउ पूरै स्वतन्त्र छोडीदिदा । त्यस्तो आनन्द १० वर्ष अघि थाइल्याण्डको पटायामा पानी जहाज समुन्द्रको हल्कोमा पस्ता मात्रै अनुभूति भएको थियो । 
म जन्मिएको कर्णालीबाट बगेर आउने कर्णाली नदीको भेलको पानी पूरै रातो हुन्थ्यो वर्षामा । त्यहि रातो पानी सफा गरेको भन्दै वीचमा गएर हातले दायां वायां छल्काएर घुटुघुटु पिय पनि कहिले विरामी भैएन । बरु पेटमा पसेका किटाणु मार्न खुवै लडे हुन् प्रतिरोधी लडाकु जीवाणु जस्तो लाग्छ अचेल । 
पौडी खेल्नु, बालुवा ताप्नु, वर्दिया निकुञ्ज छिरेर निउरोको साग टिप्नु हाम्रो दैनिकी थियो । कालो अंधेरो जस्तो घना बर्दिया निकुञ्जमा बाघको उस्तै डर, हात्ती त हिउंदमा गाउं छिरेर ताण्डव गरेको झन् त्यहि बेला याद आउंथ्यो । मुटु ढक्क हुन्थ्यो । छिसिक्क बांदरले हांगो फेर्दा पनि सबै त्राही त्राही भइन्थ्यो । 
ठाउं ठाउंमा कटान रोक्ने तारजाली बांधेका हुन्थे । नदीको डिलमा अग्लो ठाउं तीनै हुन्थे । त्यसैमाथिबाट जिम्न्यास्टिक हान्दै छप्लांङ्ग नदीमा बजारिंदा टाउकोमा झनन्न हुने गरी चोट लाग्थ्यो । पानी नाक भरी पसेर रिंगटा लाग्ला जस्तो हुन्थ्यो । कनेरै सिंगान पानी निचोरे पछि बल्ल टाउको हल्का हुन्थ्यो । तै पनि गाउंका केटाहरु वीच उल्टा सुल्टा जिम्न्यास्टिक हान्न को भन्दा को कम हुन्थ्यो ।
बुढीकुलो हिउंदमा टीठ लाग्दो हुन्थ्यो । हामी चिचिलाहरुको पनि ढाड मुनीको । राजापुर भौंराका एघार गाविस उक्केर बर्खा लाग्नु अघि देशावर जाने भएकाले त हो नि रोपाईंका वेला बुढीकुलाले स्कुलेका अगाडी रौद्र रूप देखाउन सकेको ! आफैले बांध बांधेर रोत्याएको बुढीकुलो वर्षा भरी डरलाग्दो गरी सुसाउंथ्यो आसपासका गाउं सम्मै । 
‘माथी कर्नाली नदीको दोभानमा कच्ची बाँध लाउन कस्तो मेला जस्तो हुन्छ’ माईला थारू भन्थे - ‘दिनभर मरीमरी काम गर्यो राती हुलमुलमा जांड खाएर रमाइलो गर्दा दिनभरको थकान चट्’ । पिकनिक हो किसानको, स्कुल जाने मेरा अलि जेठा थारू साथीले भन्या सम्झन्छु । थारु समुदायका धेरै जसो साथीहरु हामी भन्दा कम्तिमा दुईतीन वर्ष जेठै हुन्थे । 
खेतमा पानी ल्याउन हरेक वर्ष किसानहरूको श्रमदानको मेला लाग्थ्यो । अघि पछि सुनसान हुने कर्णाली फाटेको दोभानमा उत्सव जस्तो । किसान, लडिया, डनलप, ट्याक्टर, रांगा, गोरुको लर्को । देशावर भनिन्थ्यो आफ्नोकाम आफै गर्ने त्यो परम्परालाई । कुलापानीका अगुवाले संयोजन गर्थे त्यसको । 
झालापाता र केहि दिनको सामल बोकेर लडियाका लस्कर जान्थे । लडिया हेर्न कस्तो मज्जा आउंछ नि ? भरखर पहाडबाट वसाईं सरी आएका केटाहरूले गाउंको एकमात्र साधनका बारेमा भन्थे कि भन्थेनन् कुन्नी याद कस्ले गर्यो ?। ‘थारू मात्रै त हुन्छन् रे’ म संग पढ्ने थारू साथीहरूले मुख विगारे होलान् त त्यसबेला ? । तेस्तो भन्या भए अछामी साथीहरूले पक्कै भने हुन् ‘धत्, पहाडी पनि धेरै हुन्छन् रे बे’ । हुन पनि बसाईं सरी आउने पहाडीहरू हरेक हिउंदमा बढेका बढेई थिए ।  
अछामबाट बसाईं सरी आएका साथीहरू स्कुलमा र बाहिर पनि ‘दादा’ हुन्थे । आफुलाई लागेकै हुनु पर्ने उनीहरु ठान्थे । हुल बांधेर हिंड्थे । अनि ढिलो स्कुल सुरु गर्नाले होला ठूलो जीउ भएका हुनाले पनि अछामी साथीहरुले खेलकुद जस्ता अरु क्रियाकलापमा पनि नेतृत्व लिन्थे । कुटपीट, झगडामा पनि अगाडी नै हुन्थे । अली पहिले वसाईं सरेकाहरु पछि आउनेलाई होच्याउंथे । कर्णालीबाट बसाईं सरी आएका हामीलाई जुम्ली भन्थे । फेरी जुम्ली भन्दा कति पीडा र लाज लाग्थ्यो भने नि त्यसवेला हामीलाई । असैह्य भए पछि बेला बेलामा प्रतिवाद गर्थें ‘म त कालिकोटबाट आ हो के’ । त्यसपछि त के चाहियो एसएलसी पढ्दासम्म ‘कालिकोटे’ नाउं रह्यो । 
हुन त स्कुल भरी उखान पनि चल्या थ्यो ‘अछामी हरांमी दैलेखी चोर’ । हामी प्रतिवाद गर्ने अवस्था पाए यहि उखानको सहारा लिन्थ्यौं । हुन पनि तीनघरूवामा २०४४ साल तिर स्कुल आए पछि कैयौं वर्ष स्कुलका टेवल र वेन्च जोगाउन धौ धौ भयो । राती राती स्कुलका टेवल बेन्च स्थानीयका घरघरमा पुगेका हुन्थे । दैलेखी वस्तीको विचमा जनता मावि थ्यो ।
जुम्ली उपमा पाउंदा एउटा कुरामा भने काइदाको लाभ भएको थियो । ‘जुम्लीहरु मुद्दा लड्नमा सिपालु हुन्छन्’, हल्ला थियो ‘यीन्ले मुद्दा लडी लडीकन सडकमा ल्याउंदा छन्’ । कतिपय बेला यहि हल्लाले हाम्लाई हेपिनबाट जोगाउंथ्यो । 
हाम्रो घरछेउको सडक किनारमा कुलो थियो । ठूला केटाहरू सुखार गाउंको चारगाउं कुलामा नुहाउन जान्थे । पौडी जानेका अझै ठूलाहरू कर्नालीको भंगालो गेरूवा नदीमा जान्थे । चारगाउं कुलाको बाँधमा हाम्फालेर तल निस्कन सक्ने हुनु सवैका लागि कम्तिको साहसिलो काम हुन्थेन । सुखार गाउँमा पानी लान बांध लाइएको थियो । बांधबाट पानी खस्दा तल पानीको भुमरी परेको थियो । भुमरी छलेर तल किनारमा आउन शिप र बल दुवै चाहिन्थ्यो । त्यहि भएर सिकारु र कमजोर आंत भएकाले आंट गर्थेनन् । भुमरीमा परेर गाउँका केहिको लाश पनि नपाइएको वुढापाकाबाट सुनेकाहरुको त झन् त्यसै मुटु कांप्थ्यो । तर, एक न एक दिन त जो पनि बांधमा हाम्फाल्थ्यो । 
बाजेलाई हामी बोब भन्थेम् । बोब हामीलाई टोटकी भन्थे । भन्थे ‘टोटकी चारगाउं कुला नजानु’ । मेरी मामा घरकी बज्यै संधै पिरलो गर्थिन् ‘यो नानु छ काउंदो डुब्न्या हो यो ?’ सानो हुंदा वर्षामा घरछेउ कै कुलामा नुहाउने अनि ढिक माथीको बालुवा ताप्ने हाम्रो दैनिकी हुन्थ्यो । एक दिन मैले बालुवाको जुँगा बनाएँ । मेरो ठुलीआमाको छोरा उमा दाईले मेरो नाम राखी हाले ‘जुंगे माछो’ । त्यसपछि त मेरा तीन नाम भै हाले नि ।
चार गाउंकुलोमा चांहि बुढिकुलोबाट बांध बांधेर पानी आउंथ्यो । त्यहि चारगाउँकुलोबाट हाम्रो गाउंको कुलोमा पानी आउंथ्यो । कर्णालीको पानी ठाउँठाउँको बांधबाट छेकिदै छेकिदै हामीले डुवुल्की मार्ने हाम्रो गाउंको आँगनमा आइपुग्दो रहेछ । हामी केटाकेटीले स्कुल सक्नेबेला मात्रै यो थाहा पाइयो । 
बुढीकुलामा ठाउँ ठाउँमा काठको लामो डुंगा अर्थात् नाउ लाग्थ्यो । ठेक्कामा लिनेले पैसा असुल्थे वारपार गराएको । धेरैजसो पूराना हुन्थे नाउ । भारतको कतर्नियासम्म पुगेर नाउ किनेर ल्याउंछन् भन्ने हल्ला थ्यो । वेलाबेलामा नाउले सन्तुलन गुमाउंथ्यो अनि घोप्टिहाल्थ्यो । हतारो छ भन्दै सबै ह्वार्र चढ्ने अनि उत्रन कोहि नमान्ने । हुलमुलमा कैयौं पल्ट नाउ घोप्टिने । यस्तोमा वृद्धवृद्धा र केटाकेटी अनि दुई जीउ भएका महिलालाई सबै भन्दा सकस हुन्थ्यो । तर, छेउमा हुनाले मानिसहरु झोला, कपडासंगै भिज्थे अनि बलियाले सबैलाई उतारी हाल्थे, ठूलै दुर्घटना हुन पाउंथेन । चुहिने भएका पूराना नाउबाट मुल फुटि रहन्थ्यो । एउटाको कामै नाउमा जम्मा भएको पानी मगबाट बुढीकुलामैं हुर्याउने हुन्थ्यो । 
पूरानो नाउले त्यसबेला ‘व्यालेन्स’ गुमाउंदा मेरा उमाकान्त र मणिदाईले कति दिन भिजेका किताव बोकेर घर फर्के हुनन्, हिसाब होला कि नाईं ? यूरिया मलका बोरा भित्रको वाक्लो प्लास्टिक घोटीघोटी पखालेर गाता हालेका किताब रूझ्दा मेरा बालसखी ती दाईहरू रोए हुनान् त ? एक दुई वर्ष पढेका पूराना किताव किन्या भए त झन् पानीले गलायो होला है ?। त्यसवेला तीन चार खेपसम्म पुराना किताव पढ्ने चलन थियो । चलन के भन्नु नयां किताव किन्न नसक्ने अधिकांशको वाध्यता थियो । 
अनि सांच्ची, ती दाईहरूले जस्तै मेरा बाले मलाई सानो छ भन्दै नदी तर्नु पर्ने पाताभार स्कुल नहालेकामा म खुसीले कहिले नांचे हुंला त त्यसबेला ?! के नाचें हुला र ?! घरछेउको सानो वन्जरिया खोलाले पनि कम्ता दुःख दिन्थ्यो र ? खेतको पानी बगेर आउने झरन पनि वर्खामा हामी स्कुलेका लागि कर्णाली नदी भन्दा ठूलो हुन्थ्यो । पुल थिएन । छाती माथी सम्मको पानी हुन्थ्यो । मान्छेले तर्ने बनाएको ठाउं अलिक कम गहिरो हुन्थ्यो । तर, कस्तो वेगको हुन्थ्यो भने अड्कल गरेर हुत्तिएर पारी नपुगे बगाएर गहिरोमा धकेलिदिन्थ्यो । 
कपडा, चप्पल, किताव सबै टाउकामा राखेर हामी पारी जान्थेम् । रातभरी जोडदार पानी परेका दिन भोली पल्ट स्कुल चांदा त्यहि बन्जरिया झरन पनि सुसाएको हुन्थ्यो । एकले अर्कोको हात समातेर बाल साङ्लो बनाएर खोला तर्दथ्यौं त्यस्तो बेला । टाउकामा चप्पल, किताव र कपडा एक हातले च्यापेर खोलो तर्दा साना हात गलेर फतक्कै हुन्थे । वर्षा विदा पछिको भदौ एक गतेदेखि लगभग दशैं विदा नहुन्जेल यहि नियति सधैं दोहोरिन्थ्यो । 
तीन चार कक्षा पढ्ने हामी चिचिलालाई नांगै देखेर ठूला केटाकेटीहरुले पानीमा सर्पले मुत्ने डस्ला है भन्दै तर्साएको सम्झँदा अहिले पनि हांसो उठ्छ । डर लाग्छ । लाज पनि लाग्छ । 
अंग्रेजी, गणित र पछि पछि विज्ञान विषयको ‘टिउसन’ पढ्ने फेशन जस्तै थियो । बाध्यता पनि थियो । बाध्यता फेशन जस्तै पनि बनेको थियो । पाताभारका वीएस्सी सर गणितको ‘टिउसन’को लागि एरियाकै नामुद दिए । कालिकोटको एउटा विद्यार्थी उनको भात पकाउंथ्यो । ‘फिरिमा टिउसन पढ्छ यो त’ अरूले भन्थे । उ पनि सुनाउंथ्यो ‘चामल जस्तो सारो भात खान्छन् वीएस्सी सर’-भन्थ्यो-‘बिहान ६ बजेदेखि रातीसम्म पढाउंछन् । भोक लाग्दैन रे’ । सुनेर सबै दंग परिन्थ्यो । 

गणितको ‘टिउसन’ पढ्न जाने पाताभार स्कुलबाट शुक्रवार घर फर्कदै थियौं । शनिवार छुट्टी हुने भएकाले हामी संधै शुक्रबार घर जान्थ्यौं । बुढीकुलो आइहाल्यो । धेरै जना थियौं केटाकेटी ।
बुढीकुलो पार गर्दा कट्टु भिजाउने सम्मको पानी थियो । मैले फिता नभएको खुट्टा छिराउने चप्पल लाएको थिएं । हामी टिउसन अवधी भरी एकप्रिय माविमैं वस्ने भएकाले म रित्तै थिएं । केहि केटाहरु पाताभार वस्थ्यौं । केटीहरु घरबाटै आउने जाने गर्थे । बेन्च जोडेर हामीले खाट वनाएर कक्षा कोठामा सुत्ने वनाएका थियौं । वर्षा विदाको सुरुको बेला रैछ कि ?!
बुढीकुलामा खै किन म हौसिएं । चप्पल हुर्र फाल्दै टिप्तै गर्दै थिएं । पानी छ्याप्दै, भिज्दै पानीमा रमाएँ । पारी किनार पट्टी पानी सलल बगेको थियो । चप्पल टिप्न नपाई बगायो । खोज्दा पनि पाइएन । खुब उफ्रेको थिस् ठिक्क परिस्, भीडबाट कस्ले रिस गर्दै भन्यो । मैले ठम्याउन सकिन । 
सबैका खुट्टामा बकुल्ला छाप फिते चप्पल हुन्थे । मैले विन्द्राको असलम खानको किराना पसलबाट किन्या ‘स्टाइल’को चप्पल बग्यो । म कालो भएं । रून पनि सकिन । असलम खांन भारतबाट आएर २५ वर्षदेखि पसल गरिरहेका वृद्ध थिए । किराना पसल भने पनि उनको पसल अचेलको डिपार्टमेन्ट स्टोर जस्तो थियो । कपडा, खाद्यान्न, जुत्ता चप्पल मात्र होइन समोसा, जेरी र बर्सोला मिठाइ पनि पाइन्थ्यो त्यहाँ । पूर्व गेरुवा नदी छेउको गुप्तीपुर, दक्षिणको जोधिपुर, पश्चिम सुखार देखि उत्तर तिनघरुवा र खल्ला गाउं सम्मका ठाउँबाट ग्राहक ओइरिन्थे । अन्यत्र पसल थिएनन् । कि राजापुर जानु पर्थ्यो । 


घरमा किराना पसल हुंदाका दिन सम्झें । बालुवामा चप्पल लुकाई खेल्दा खेल्दै चप्पल हराउंथे । अनि लुसुक्क राती घर पुग्यो, उस्तै रंग र नम्बरको चप्पल चोर्यो । झन् नयां पाइने । कस्तो आनन्द । तर, नयां चप्पलमा वालुवा र माटो धसारेर पूरानो बनाउन एकछिन भने कम्ता दुख हुन्थ्यो र ?। नत्र बाले थाहा पाए भकुराई खाने डर । हुन त मेरा बाले मलाई कुटेको याद छैन । तीन कक्षा सम्म संगै पढेको साथी विष्णुका बुवाले त आंगनको बबुरको रुखमा झुण्ड्याएर तातो पन्युले डाम्न खोज्थे । पैसा चोरेको कवुल गरे पछि वल्ल खोल्थे डोरी । चोर्न पनि जति गरे पनि छाड्थेन । उसले पैसा चोरेर बाको कुटाई खाए पनि हाम्लाई भने मोज हुन्थ्यो । दशकौंदेखि थारु गाउंको वीचमा बसेर चलेको वीन्द्राको अर्को मुन्सी खानको पसलमा जेरी, वर्सोला मिठाई र गोट्टा खुब ख्वाउंथ्यो । सिजनमा थारुका घरबाट किनेर उखु पनि खान पाइन्थ्यो उसको संगतले ।

एक पल्ट लहलहैमा लागेर पचास रुपिया चोर्दा सडकमा लछार्दै पिटेर घर लगेको मात्र याद छ । अरु विर्सें कि पिटेनन् एक दिन बालाई सोध्नु पर्ला !

 

प्रतिकृया दिनुहोस