Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

कृष्णसार एफएम ९४ मेगाहर्ज १८ औँ वर्षमा प्रवेश, ‘नयाँ वर्ष, आशा र सरकार’ विषयमा रेडियो संवाद आयोजना

 

कृष्णसार एफएम ९४ मेगाहर्ज आजदेखि १८ औँ वर्षमा प्रवेश गरेको छ। वि.सं. २०६५ साल चैत १४ गते साँझ ६ बजेर ५५ मिनेटबाट प्रसारण सुरु गरेको यस एफएमले निरन्तर रुपमा समुदायमुखी कार्यक्रममार्फत आफ्नो उपस्थिति सुदृढ बनाउँदै आएको छ।

बदलिँदो प्रविधिको उपयोग गर्दै कोभिड–१९ महामारीपछिको आर्थिक मन्दी लगायत विविध चुनौतीका बीच पनि स्रोताको आवश्यकता र भावना समेट्ने प्रयास जारी रहेको कार्यकारी निर्देशक तुला अधिकारीले बताउनुभयो।

हाल एफएमले अत्याधुनिक डिजिटलमैत्री स्टुडियोमार्फत कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आएको छ भने २ हजार वाट क्षमताको डिजिटल ट्रान्समिटरबाट सेवा दिइरहेको छ। यस क्षेत्रकै उच्च प्रसारण क्षमतायुक्त सामुदायिक रेडियोका रूपमा स्थापित कृष्णसार एफएमले आफूलाई सर्वाधिक लोकप्रिय बनाउन सहयोग गर्ने सम्पूर्ण स्रोता, शुभेच्छुक, विज्ञापनदाता, सहयोगी तथा एफएम परिवारप्रति आभार व्यक्त गरेको छ।

एफएमका ‘पश्चिम डायरी’, ‘भञ्ज्याङ’, ‘मर्निङ शो’, ‘घरअँगना’, ‘रेडियो इजलास’, ‘ताजा सवाल’ र ‘युवा संवाद’ जस्ता कार्यक्रमहरूले स्रोतामाझ विशेष स्थान बनाएका छन्। साथै, विषयवस्तुको गहिराइमा पुग्ने उद्देश्यले दैनिक ‘रेडियो पत्रिका वीटन्यूज’ अभ्यास नेपालमै पहिलो पटक सुरु गरेको दाबी गरिएको छ।

क्षेत्रीय समाचार आदान–प्रदानलाई सुदृढ बनाउन ‘पश्चिम डायरी’ कार्यक्रममार्फत नयाँ प्रयोग गर्दै सामग्रीमा साझेदारीको अभ्यास समेत अघि बढाइएको छ। त्यसैगरी ‘कृष्णसार आइडल’ जस्तो रियालिटी शो तथा ‘पश्चिम सरोकार’, ‘खेती किसानी’ र ‘स्वास्थ्यका लागि रेडियो बहस’ जस्ता कार्यक्रमहरू पनि लोकप्रिय बनेका छन्।

‘कृष्णसार जत्तिकै तेज’ नाराका साथ १७ वर्षअघि समुदायका लागि सञ्चार अभियान नेपालद्वारा स्थापना गरिएको यस एफएमले नेपालगञ्जको सशक्त सञ्चार गृहको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ।

यसै अवसरमा वार्षिकोत्सवका दिन आज ‘नयाँ वर्ष, आशा र सरकार’ विषयमा रेडियो संवाद कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापार–उद्योग लगायतका विषयमा छलफल गरिने सञ्चालक संस्था समुदायका लागि सञ्चार अभियान नेपालका अध्यक्ष माधवराज अधिकारीले जानकारी दिनुभयो।

 

प्रतिकृया दिनुहोस