Krishnashar

हाम्रो विश्वास, हाम्रो प्रतिबद्धता

कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।

अझै सञ्चालन भएन सिटी हल

यहाँको अत्याधुनिक नगर सभागृह (सिटी हल) उद्घाटन भएको करिब दुई वर्ष पुग्न लाग्दासमेत नियमित सञ्चालनमा आउन सकेको छैन । सभागृह सञ्चालन गरेर स्थानीय अर्थतन्त्र चलायमान बनाउने र ठुला कार्यक्रमका लागि सहज पूर्वाधार उपलब्ध गराउने उद्देश्य अधुरै छ ।

सङ्घीय सरकारको ३३ करोड ३४ लाख ७५ हजार ३७० रुपियाँ लागतमा निर्माण गरिएको सभागृहको २०८१ फागुन १३ गते उद्घाटन गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका–१४, भवानियापुरमा रहेको सभागृहमा ७९५ जना अट्ने मुख्य सभाकक्षसहित चार वटा साना सभाकक्ष, प्रशासनिक कक्ष, पार्किङलगायतका पूर्वाधार छन् । निर्माण सम्पन्न भएर उद्घाटन भइसके पनि सभागृह नियमित सञ्चालनमा नआउँदा स्थानीयवासी तथा व्यवसायी निराश छन् । सभागृहमा सभा, सम्मेलन, सांस्कृतिक कार्यक्रम र अन्य ठुला कार्यक्रम सञ्चालन हुन सके आसपासका क्षेत्रमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको थियो ।

नेपालगन्ज उपमहानगरपालिका–१४ का पूर्ववडाध्यक्ष ओमकार मिश्रले सभागृह सञ्चालनमा आएपछि दैनिक जसो कार्यक्रम हुने र स्थानीय क्षेत्रमा चहलपहल बढ्ने अपेक्षा गरिएको बताउनुभयो । लामो समयसम्म भवन प्रयोगविहीन रहँदा भने त्यसबाट प्राप्त हुन सक्ने लाभ स्थानीयले लिन नपाएको उहाँको भनाइ छ ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सरकारी लगानीमा निर्माण गरिएको सभागृह सञ्चालनमा नआउनु दुःखद भएको बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले सभागृह सहरको मुख्य केन्द्रबाट केही टाढा रहेकाले कार्यक्रम आकर्षित गर्न कठिन भएको बताउनुभयो । उहाँले सभागृह निर्माण सम्पन्न भएपछि दुई वटा नगर सभा र दुई वटा राजनीतिक दलका कार्यक्रम मात्रै आयोजना भएको जानकारी दिनुभयो ।

प्रवक्ता रिजालले सभागृह सञ्चालनका लागि व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने उद्देश्यले बोलपत्र आह्वान गरिए पनि प्रस्ताव नपरेको बताउनुभयो । त्यसपछि उपमहानगरपालिकाले कर्मचारी खटाएर भवनको रेखदेख गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाका अनुसार सभागृह निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने वा नगरपालिकाले आफैँ सञ्चालन गर्ने भन्ने विषयमा केही दिनभित्र निर्णय गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस