कृष्णसार एफएम ९४ मेगाहर्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा रहेको सामुदायिक रेडियो स्टेशन हो । यो पत्रकारिताको शैक्षिक र व्यवसायिक पृष्ठभूमि भएका पत्रकारहरुको संस्था समुदायका लागि सञ्चार अभियान नेपालले २०६५ साल चैत्रदेखि संचालित छ । यसमा नेपालका विभिन्न पेशा र क्षेत्रमा संलग्न सफल व्यक्तिहरुको समानुपातिक सहभागिता छ । क्षमतावान, ईमान्दार र अनुभवी पत्रकारहरुले रेडियोको विभिन्न विभागको नेतृत्व गरिरहेका छन् ।
बाँकेमा १०४ पटक रक्तदान गर्ने कृष्णसारकर्मी पवन जायसवाललाई नेपालगन्जमा एकैदिन दुई वटा सम्मानले सम्मानित गरिएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर नेपालगन्जको रेडियो कृष्णसार एफएममा कार्यरत पत्रकार जयसवाललाई प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले र ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले छुट्टाछुट्टै कार्यक्रममा सम्मान गरेका हुन् ।४ असोज २०४६ मा नेपालगन्ज जेसिसले आयोजना गरेको रक्तदान कार्यक्रमपछि जायसवालले रक्तदान दिन थाल्नुभएको हो ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको ३२औं साधारणसभामा प्रमुख अतिथि वरिष्ठ नागरिक अगुवा कृष्णराज पन्त र संस्थाका अध्यक्ष लता शर्माले पत्रकार जायसवाल र उहाँकी पत्नी किरणदेवी जायसवाललाई सम्मान गर्नुभएको हो । संस्थागत रुपमा हालसम्म एक हजार पाँच सय भन्दा बढी प्रिन्ट रगतदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले नेपालगन्ज ब्लड डोनेसन ग्रुपलाई र पतञ्जली योग समितिलाई सम्मान गरेको थियो । रक्तदान कार्यमा संस्थागत रुपमा सहयोग गर्ने डेढ दर्जन संघसंस्थालाई पनि कदर पत्र प्रदान गरिएको संघका जिल्ला अध्यक्ष सञ्जय थापाले बताउनुभयो ।
नेपालगन्जमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ९० पुरुष र १२ महिला गरी १०२ जनाले रक्तदान गरेको संघका नेपालगन्ज नगर समिति अध्यक्ष शिव दाहालले जानकारी दिनुभयो ।यसैबिच विश्व रक्तदाता दिवसको अवसरमा स्वयंसेवी रक्तदाता समाज बाँकेले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । समाजका अध्यक्ष दिला शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका शतक रक्तदाता तथा समाजका सल्लाहकार पवन जयसवाल र अर्का सल्लाहकार पूर्णलाल चुकेले शुभकामना दिनुभएको थियो । समाजले एक साताभित्रै रक्तदान सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस